राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने
माघ १९, २०७९ बिहिबार
रुपन्देही – लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताउनुभएको छ । शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी दाङमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।
आज मङ्गलवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरू बन्ने काम चलिरहेकाले मन्त्रालयहरू क्रमशः त्याे ठाउँमा सार्दै जाने पनि बताउनुभयाे । तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उहाँले उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘सबै दलको सहमतिमा शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले प्रदेशको राजधानी सार्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लैजाने काम मात्रै वर्तमान सरकार हो । यसमा कसैले पनि आपत्ति जनाउनुपर्ने कारण छैन ।’
कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामारा शैलीमा मन्त्रालयहरू दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले राजनीतिक दल र सरोकारवाला निकायसँग छलफलसमेत नगरि सेवाग्राहीलाई असर पर्ने गरि मन्त्रालयहरू दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गर्नुभयो ।
प्रदेश सांसद श्रेष्ठले पूर्वाधारको अभावमा जनताले सेवा पाउने काम सहज नहुने भएकाले पनि प्रदेश राजधानी लुम्बिनीबाट अन्यत्र सार्न नमिल्ने जिकिर गर्नुभयो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्निचर गए राति दाङको देउखुरीमा सार्ने काम गरिएपछि रुपन्देही एमालेका सांसदले त्यसको विरोध गरेका छन् ।