चिराइतो बिक्री नभएपछि निरुत्साहित बनेका किसान बजार तङ्ग्रिन थालेपछि उत्साहित

 माघ ८, २०७९ आइतबार १६:२२:४५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा बढी उत्पादन हुने चिराइतोको उत्पादन र बिक्री वितरण न्यून भएसँगै निराश बनेका कृषकहरु यस वर्ष बिक्री सुरु भएपछि आशा पलाएको बताउँछन् ।

ताप्लेजुङका कृषकहरुले यस वर्ष चिराइतो राम्राे बिक्री गरेका छन् । तर, अहिले उत्पादन भने धेरै नै कम रहेको कृषकहरु बताउँछन् । फक्ताङलुङ गाउँपालका ४ ईखावुका कृषक धनबहादुर लाबुङ कोरोनाका कारण चिराइतो बिक्री नभएपछि आफूले खेती नै गर्न छोडेको बताउनुभयो । उहाँले ५ वर्ष अगाडि करिब १५ मन (१ मनमा ४० केजी हुन्छ) सम्म उत्पादन गर्ने गरेकोमा अहिले भने उत्पादन गर्न छोडेको बताउनुहुन्छ ।

उता, सिरिजंघा ७ याम्फुदिनका कमल राईले पनि सबै व्यवसाय छोडेर ५ वर्ष अगाडि चिराइतो खेती गरेका थिए तर, चारवर्षदेखि कोरोनाका कारण बिक्री वितरण नभएपछि खेती नै छोडेको बताउनुभयो । बिक्री नभएपछि गाउँ क्षेत्रका कृषकहरुले चिराइतो लगाउने र सङ्कलन गर्ने कार्य नै छोडेका थिए तर, यस वर्ष मूल्यमा वृद्धि भएसँगै व्यापार खुलेकाले कृषकहरु उत्साहित बनेका छन् ।

जिल्लाका कृषकहरुले एक दशक अगाडि मात्र चिराइतोको राम्राे मूल्य पाएका थिए । त्यसपछि यस वर्ष मात्र चिराइतोको मूल्य वृद्धि भएको हाे । कोरोना सुरु हुनुभन्दा अगाडि अर्थात् तीन वर्ष अगाडि विभिन्न गाउँहरुमा सङ्कलन गरिएको चिराइतो चीनको सीमावर्ती क्षेत्रहरु पुग्ने गरेको थियो ।

चिराइतो सीमावर्ती क्षेत्र ओलाङ्चुङगोलामा पुगेर चीनको स्व-शासित क्षेत्र तिब्बत जाने गरेको थियो । तर, नाका बन्द भएपछि चिराइतोको बिक्री वितरण नै बन्द भएको थियो । चीन जाने नाका बन्द भएको र भारतमा पनि बिक्री वितरण नभएकाले चिराइतो उत्पादन र बिक्री वितरण बन्द जस्तै थियो । अहिले भने झापाको बिर्तामोडहुँदै भारत निकासी हुने हुँदा कृषकले सङ्कलन गरी जिल्लाका व्यापारीलाई चिराइतो बेच्दै आएका छन् ।

विशेष गरेर चिराइतो पछिलो समय भारतमा बिक्री हुने गरेको छ । भारतमा बिक्री गरिने भएकाले अहिले चिराइतो भारतको सीमावर्ती बजार क्षेत्र तथा नाकामा पुर्याउन थालिएको छ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको ओलाङचुङगोला नाकाहुँदै इलाम, पाँचथर तथा ताप्लेजुङमा सङ्कलन भएको चिराइतो चार वर्ष अगाडि चीनमा बिक्री गरिँदै आएको थियो । तर, अहिले भने झापाको बिर्तामोडतर्फ चिराइतो बिक्रीका लागि गइरहेको स्थानीय व्यापारी गोविन्दराज बरालले बताउनुभयो ।

करिब एक दशक अगाडि प्रतिमन (४० केजी) को ८ हजार रुपैयाँ थियो । तर, त्यस बेला चीनका व्यापारीले त्योभन्दा बढी मूल्य दिएपछि तिब्बत पठाउन थालियो । मान्छेले बोकेरभन्दा हेलिकप्टरमा लैजाँदा छिटो र सस्तो पर्ने भएकाले संखुवासभाबाट हेलिकप्टर चार्टर गरेर पनि चिराइतो लाने गरिएको थियो । नेपालमा ८ हजार मूल्यको चिराइतो चीनको तिब्बत पुर्याउँदा ३२ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेकाे थियो ।

यस वर्ष भने जिल्लाका कृषकले राम्रो मूल्यमा चिराइतो बिक्री वितरण गरिरहेका छन् । जिल्लामा नै प्रतिमन २७ हजार रुपैयँसम्ममा लिने गरेको व्यापारी गोविन्दराज बरालले बताउनुभयो । आफूले बिर्तामोडमा लगेर प्रतिमन ३० हजारसम्ममा बिक्री गर्ने गरेको समेत उहाँले बताउनुभयो ।

ताप्लेजुङबाट बिर्तामोडसम्मको गाडी भाडा प्रतिगाडी ५० हजार रुपैयाँ रहेको व्यापारी बताउँछन् । एउटा गाडीमा २ हजार ४ सय किलोसम्म मात्रै अटाउँछ । निकासी कर प्रतिकिलो ५ रुपैयाँ तिर्नुपर्छ । छुट पुर्जीका लागि डिभिजन वन कार्यालयमा किलोको १५ रुपैयाँ बुझाउनुपर्छ । यी सबै खर्च व्यापारीले नै तिर्नुपर्ने भएकाले किसानले केही कम मूल्य पाउने गरेका छन् । जडीबुटीको गाडी बाटोमा बढी जाँच हुने र धेरै समय लगाउने भएकाले ट्रकले बढी भाडा लिने गरेको व्यापारीहरुको गुनासो छ ।

घट्यो राजश्व सङ्कलन

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ८ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताउनुभयो । छुट पुर्जीका लागि प्रतिकेजी १५ रुपैयाँ राजश्व जम्मा गर्नुपर्दछ ।

५ हजार ८ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार रुपैयाँ राजश्व जम्मा भएको कार्यालयले जनाएको छ । वन कार्यालयको तथ्याङ्क अनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार ३ सय ३४  केजी चिराइतो सङ्कलन भएको र यसबाट २ लाख ४४ हजार ५ सयभन्दा बढी राजश्व सङ्कलन भएको थियो । जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको शाहले बताउनभयो । 

बिक्री गर्न विदेशीको मुख ताक्नु पर्ने बाध्यता

नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्याण्ड, मलेशिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीटजरल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

विभिन्न रोगको औषधि

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्दति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । 

दुई वर्षसम्म बाँच्ने झार वर्गको यो वनस्पति चार वर्षमा मात्रै सङ्कलन योग्य हुन्छ । पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाएर मुला जस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भइ हरेक आँख्लामा हाँगा र पातहरू पलाएर आउने र फूल तथा बीउ लाग्ने गर्छ । दुई वर्षमा सप्रेको बोट १ दशमलव ५ मिटरसम्म अग्लो हुने किसान बताउँछन् । हाँगा भएर बढ्ने चिराइतो चार वर्षमा काट्न योग्य हुन्छ ।

 

१ हजार ७ सयदेखि ३ हजार ५ सय मिटरसम्म उत्पादन 

त्यो बेलासम्म यसले बीउ पनि उत्पादन गर्छ । भाले र पोथी भनेर पनि छुट्याइने चिराइतो भने २७ प्रजातिको हुने डिभिजन वन अधिकृत शाहले बताउनुभयो । हिमालय क्षेत्रको रैथाने यो प्रजाति प्राकृतिक अवस्थामा १ हजार ७ सय सयदेखि ३ हजार ५ सय मिटरसम्म हुने गरेको छ । ताप्लेजुङका सबै ६१ वडामा नै चिराइताे पाइन्छ । यो पूर्वाञ्चलमा सबैभन्दा बढी पाइने गरेको छ । 

औषधिजन्य वनस्पतिका रूपमा रहेको यसलाई आयुर्वेदिक, होमियोप्याथी, आम्ची तथा एलोप्याथी औषधीय पद्धतिका साथै अन्य उद्योगमा पनि प्रयोग हुने गरेको शाहले बताए । सबैभन्दा बढी खपत भारतको मुम्बई र पटनामा हुने व्यापारीहरु बताउछन् । 

कात्तिक, मङ्सिरमा सङ्कलन 

साउनदेखि कात्तिकसम्म फुल्ने र असोजदेखि मङ्सिरमा पाक्ने चिराइताेको सङ्कलन भने कात्तिक र मङ्सिरमा गरिन्छ । चिराइताे उखेलेपछि एक किलो जतिका स–साना मुठा बनाइने र यसलाई हावा चल्ने ठाउँमा भण्डारण गरिन्छ । राम्रो सुकिसकेपछि यसको तौल घट्दैन । पहिला जङ्गल र खेतबारीमा स्वतः उम्रने चिराइतोको किसानले खेती पनि गर्न थालेका थिए । तर मूल्य नपाएपछि धेरैले खेती छाडेको बताइन्छ ।

 

 

अन्तिम अपडेट: माघ १७, २०७९

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया