उच्च शिक्षा पढ्न हुम्लादेखि काठमाण्डौसम्म आउँदा दुई दिन हिँडेपछि पहिलो पल्ट गाडी र प्लेन देखेँ

 माघ १०, २०७९ मंगलबार १२:१८:३८ | नरेश बोहाेरा
unn.prixa.net

हुम्लामा जन्मिएर काठमाण्डौ सहरमा पढ्ने रहर गर्नु मात्रै पनि ठुलो कुरा हो धेरैका लागि । तर रहर गर्‍यो भने पनि पूरा हुँदो रहेछ कहिले काहीँ त ।

हुम्लाको चंखेली गाउँपालिका १ को बोहरा गाउँमा जन्मिएको म । २०७७ सालमा एसईई पास गरेँ । गाउँमा कलेज छैन । पढ्नका लागि गाउँ त छाड्नै पथ्र्यों ।

साथीभाइ पनि कोहीले नेपालगन्ज पढ्ने भने त कोहीले सुर्खेत । मलाई भने गाउँ घर नै छाड्न पर्ने भएपछि किन नेपालगन्ज र सुर्खेत पढ्नु ? जे हाला काठमाण्डौ नै जान्छु भनेर निधो गरेँ । 

२०७७ साल साउन ६ गते काठमाण्डौ हिँड्ने दिन पनि पक्का भयो । कस्तो होला काठमाण्डौ ? कस्तो होला त्यहाँको पढाइ ? मनमा उत्सुकता थियो । 

अर्कोतिर पहिलो पटक घरेदेखि यति टाढा जाने कुरो गर्दा मन दुःखी भयो । अलिअलि डर र  धेरै रहर बोकेर म ६ गते बिहान घरबाट काठमाण्डौका लागि एक्लै हिँडे । 

काठमाण्डौ भन्ने नाम बाहेक मलाई यो सहरका बारे थाहा थिएन । बाटोमा कसैले सोधे भन्थेँ काठमाण्डौ पढ्न हिँडेको ।

बुवाले आफ्नो साथीलाई फोन गरेर जहाजको टिकट त भन्दिनुभएको थियो । तर हुम्लाको बोहरा गाउँबाट मुगुको ताल्चा विमानस्थलसम्म पुग्नै घरबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ । मेरो गाउँमा गाडी पुग्दैन । गाडी र हवाई जहाजको त किताब र मोबाइलमा चित्र मात्रै देखेको थिएँ ।

 डाँडा, काँडा र उकाली ओराली गर्दै दुई दिन हिँडेरै म मुगुको नाफा भन्ने स्थानमा पुगेँ । रातीको आठ बजिसकेको थियो । त्यस रात त्यहीको होटलमा बास बसेँ ।

 दोस्रो दिन,

साउन ८ गते बिहानै उठेर फेरि यात्रा सुरु गरेँ । आज मलाई जहाज चढ्ने ठाउँसम्म पुग्न हतारो छ । तीन घण्टाको यात्रापछि ११ बजे मुगुको गमगढी बजार पुगेँ । बजारमा खाना खादा घण्टीको सुईले १ बज्न लागिसक्यो । त्यहाँबाट भने अलिक सहज भयो । खाना खाएकै होटलको दाइले विमानस्थलसम्म जाने गाडी खोजिदिनुभयो । 

त्यहाँ पुगेपछि मात्रै जीवनमा पहिलो पटक मेरो आँखाले गाडी देख्यो । आफ्नै आँखा अघिल्तिर गाडी देख्दा एक छिन त सपना झैँ लाग्यो । गाडीमा बस्दा त अचम्मै लाग्यो । म नै गाडीमा बसेको हुँ त झैँ लाग्यो । जब गाडी गुड्यो तब मेरो मन पनि जहाजमा ज्यान नबस्दै खुसीले उड्यो । पहिलो पटक ४ घण्टा गाडीको यात्रा गरेर ज्यान ताल्चा विमानस्थलसम्म पुग्यो । त्यस दिन पनि विमानस्थलसम्म पुग्दैमा बित्यो । ताल्चा विमानस्थल नजिकैको होटलमा रात काटेँ ।

साउन ९ गते आँखा खुल्दा ७ बजिसकेछ । आँखा बाहिर पुग्यो । आकाश त कुहिरोले डमक्क ढाकेको रहेछ ।        

योजना त आजै प्लेन चढ्ने थियो । तर मौसमले साथ दिएन । बिहानको १० बज्दा पनि कुहिरो उघारिएन । मौसम नखुलेपछि प्लेन नउड्ने रहेछ । बरु खालि समयमा विमानस्थल नजिकै रहेको रारा ताल घुम्दा हुन्छ भन्ने सल्लाह दिए त्यहाँका मानिसले । विमानस्थलमा मजस्तै जहाज कुर्ने अर्को एक जना दाइ पनि हुनुहुन्थ्यो । हामी दुई जना सल्लाह गरेर रारा घुम्न गयौँ ।

रारा पुगेर त्यहाँको सुन्दरताले एक छिन् भए पनि दुई दिनको थकाई बिर्साइदियो । जहाज उड्ला कि नउड्ला भन्ने चिन्ता पनि आफैँ हरायो । दिउँसोको ४ बजे मात्र राराबाट तल विमानस्थल झर्याैं  अघिल्लो दिनकै होटमा बास बस्यौँ ।

साउन १० गते बिहान भालेको कुखुरी काँले आँखा खुल्यो । आज पनि हतार हतार आँखा बाहिरको मौसम तिरै गयो । तर आज हिजोजस्तो थिएन । मौसम सफा थियो । वरिपरिका डाँडाहरू टलक्क टल्किरहेका थिए । मौसम देखेर मन खुसी भयो ।

दिउँसोको ३ बजेको टिकटमा उड्ने निश्चित भयो । तर मनमा कति बेला जहाज आउला र चढौला भन्ने हतारो छ । समयभन्दा अघि त के पो हुन्छ र । दिउँसो ३ बजेर ३० मिनेटमा बल्ल ताल्चा विमानस्थलबाट जहाज उड्यो ।

जीवनमा पहिलो पटक जहाज चढ्दा धर्ती छाडेर कतै उडे झैँ लाग्यो । जमिन माथिमाथि आकाशमा चराजस्तै उड्नुको मज्जा पनि छुट्टै हुने रहेछ । तर डर पनि लाग्यो । जहाज तलमाथि गर्दै ढल्कँदा त घरीघरी मुटुले ठाउँ नै छाडेजस्तै भयो ।

नेपालगन्जमा जहाजबाट ओर्लिएपछि आफन्तको घरतिर लागेँ । नेपालगन्जमा मेरो आफन्तहरु बस्छन् । त्यस दिन आफन्तकै घरमा बसेँ ।

साउन ११ गते बल्ल घरबाट हिँडेको पाँचौँ दिनको दिन नेपालगन्जबाट काठमाण्डौको लागि गाडीको यात्रा सुरु भयो । म कहाँ हिमालको मान्छे । सधैँ झैँ चिसो मौसम । नेपालगन्ज आएदेखि नै गर्मीले असाध्यै गाह्रो भयो । त्यहाँबाट गाडी चढेपछि भने अलिअलि ज्यानमा शीतलता छायो । गाडी जति अघि बढ्यो त्यति अनौठा गाउँहरू । देख्दा पनि म त जिल्ल नै परेँ । कहाँ आएजस्तो, कहाँ हराएजस्तो । कहाँ छु म भनेरै थाहा नपाएजस्तो भयो । बेलाबेलामा सहचालकले ठाउँको नामभन्दा मात्र ए यो ठाउँ रहेछ भन्ने भयो । नत्र त संसार नै अर्को लाग्यो । 

साउन १२ गते घरबाट हिँडेको छ दिनपछि काठमाण्डौं आइपुगियो । काठमाण्डौको नयाँ बसपार्कमा गाडी रोकियो । गाडीबाट ओर्लँदा एक छिन् त झसङ्ग भएँ । गाडी र मानिसको भिडभाडले खुट्टा टेक्ने जमिन पाउन पनि पो मुस्किल पर्ने रहेछ सहरमा त । उकुसमुकुस भयो । कता जाने कसो गर्ने भेउ पाउनै गाह्रो भयो । गाडीको चर्को आवाज, जता हेर्दा पनि उस्तैजस्तो लाग्ने । सायद यही भएर सहज भनिएको होला । 

मलाई लिन भक्तपुरबाट मामाको छोरा बसपार्कसम्म आउनुभयो । काठमाण्डौमा मेरो आफ्नै कोठाको व्यवस्था नहुँदासम्म उहाँकैमा बस्ने सल्लाह भएको थियो । 

काठमाण्डौ आएको केही समयमा कोरोना महामारीको कारण दोस्रो लकडाउन सुरु भयो । यही बीचमा कलेज भर्ना हुने लगायतका काम पनि सकियो । भक्तपुरमा नै रहेको एसएस कलेजमा पढ्न थालेँ । तर सुरुवातमै कलेज जान पाइएन । कोरोनाको कारण कोठामै बसेर अनलाइन पढ्नु पर्ने भयो । झण्डै दुई महिनापछि मात्रै कलेजमा भौतिक रूपमै उपस्थित भएर पढ्न थालियो । 

पहिलो दिन ड्रेस लगाएर कलेज पुग्दा अनौठो महसुस भयो । गाउँको स्कुलको तुलनामा त यहाँ रुपै फेरिएझैँ भयो । कलेजमा विद्यार्थीहरूको भिडभाड देख्दा मनमनै डर पनि लाग्यो ।

अहिले त ती दिनहरू सपना झैँ लाग्छ । अब त १२ कक्षाको पढाइ पनि सकिन लागिसक्यो । साँच्चै समय कति छिटो बित्दो रहेछ । घरभन्दा टाढा भए पनि समय बितेको पत्तै पाएको छुइन । यता आएदेखि गाउँघर फर्कन पाएको छैन । गाउँघरको झल्को नआएको हैन ।

यहाँको चालचलन र रहनसहन देख्दा मन त पलपल आफ्नो गाउँ मै पुग्छ । तर मनजस्तो सहजै घरमा ज्यान पुग्न सक्दैन । हुन त आजकाल गाउँमा ट्याक्टर पुग्न थालेको छ रे ।

तर मैले भने  अब कक्षा १२ पास गरेको प्रमाणपत्र बोकेर मात्रै घर फर्कने सोचेको छु । 

 

अन्तिम अपडेट: माघ १९, २०७९

नरेश बोहाेरा

 नरेश कक्षा १२ मा पत्रकारिता विषय अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

1 Comments

  • Dinesh gharti magar

    Jan. 24, 2023, 12:34 p.m.

    अति सुन्दर

  •  0 Reply

तपाईको प्रतिक्रिया