मौसम धुम्म : सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना

 चैत १७, २०७९ शुक्रबार ७:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज धेरै ठाउँको मौसम धुम्म छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको  मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

दिउँसो अन्य प्रदेशमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । दिउँसोतिर काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । उहाँका अनुसार आज र भोलिको मौसम यस्तै रहने अनुमान छ भने पर्सिदेखि मौसम खुल्दै जाने सम्भावना छ ।

यस्तै, आज राति तराई मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

यस्तै, एसईईको परीक्षामा सहभागी हुने विद्यार्थी र काम विशेषले घर बाहिर जानेलाई छाता, रेनकोटलगायत ओडो बोक्न पनि सुझाव दिइएको छ। 

अन्तिम अपडेट: बैशाख २१, २०८०

तपाईको प्रतिक्रिया