आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सक...
असोज १३, २०८० शनिबार
काठमाण्डाै – रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन लिखु–२ जलविद्युत् आयोजनाले सुरुङबाट पानी चुहिएर प्रभावित भएका ४२ घरमध्ये १६ घरधुरीलाई सुरक्षित ठाउँमा सारेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा भएको सहमतिअनुसार अति जोखिममा परेका घरधुरीलाई सुरक्षित ठाउँमा सारेको आयोजनाले जनाएको छ । उनीहरूलाई आयोजनाले अस्थायी बसोबास र खानाको व्यवस्था गरेको छ । ५५ मेगावाट क्षमताको आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङको पानी चुहिएर बस्तीमा पसेको हो । सुरुङभन्दा तलको बस्तीमा घर आसपासमै पानी आएपछि विस्थापितहरूलाई अस्थायी बसोबासको व्यवस्था गरेर अध्ययन थालेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो ।
सुरुङको पानी बस्तीमा पसेपछि स्थानीयले रोक्न माग गरेकोमा आयोजनाले अटेर गरेको थियो । स्थानीयले आयोजनामै तालाबन्दी गरिदिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोधमा विद्युत् विभागले सुरुङमा पानी पठाउने काम रोक्न निर्देशन दिएको छ । अहिले आयोजनाले सुरुङमा पानी पठाउन बन्द गरेको भए पनि सुरुङ खाली भने गराएको छैन । सुरुङको पानी बस्तीमा धेरै ठाउँबाट निस्किएकोले आफूहरूलाई अन्यत्र बसोबासको व्यवस्था गर्न माग गरेको स्थानीय सुवास बस्नेतले बताउनुभयो ।
सुरुङबाट पानी चुहिएको बारेमा अध्ययन गर्न विद्युत् विभागले विज्ञ टोली गठन गरेको छ । विज्ञ टोलीले आज बुधवार प्रभावित क्षेत्रमा पुगेर काम सुरु गरेको छ ।