आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सक...
असोज १३, २०८० शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप नै चलाउनुपर्नेमा जोड दिएको छ ।
आज मङ्गलवार बालुवाटारमा बसेको कोइराला पक्षधर नेताहरूको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप चलाउनुपर्नेमा जोड दिएको हो । यही असोज ४ गतेदेखि हुने कांग्रेस केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेन्डा तय गर्न बसेको बैठकले कार्यतालिकाअनुसार साङ्गठनिक गतिविधि भए/नभएको समीक्षा गर्दै त्याे तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको एजेन्डाकाे विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध गर्न नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरूको मत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साङ्गठनिक रूपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढिरहेको छ । एक चरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समीक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ । त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ, त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन । नीति अधिवेशनको रूपमा महासमिति बैठक बोलाउने कुरा गरेका छाैँ । महासमिति बैठकलाई व्यवस्थित गर्नका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियाैँ ।’
नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रीय समिति बैठकमा समीक्षा हुने बताउनुभयो ।
बैठकमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।