आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सक...
असोज १३, २०८० शनिबार
कास्की – गण्डकी प्रदेशले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ ।
आज मङ्गलवार भएकाे फाइनल खेलमा विभागीय टाेली नेपाल पुलिस क्लबलाई ३–२ ले हराउँदै गण्डकीले उपाधिसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्याे । गएकाे वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । 'लाइट प्रोटेस्ट' का कारण सोमवारको फाइनल १–१ सेटको बराबरीपछि आजका लागि सरेको थियो ।
लामाचौरकाे इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमायाे । दाेस्राे सेट गण्डकीले २५–१९ ले जित्याे । यस्तै तेस्रो सेट फेरि पुलिसले २५–२१ ले जिते पनि पछिल्ला दुई सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो । गण्डकीले चौथो सेट २८–२६ र अन्तिम सेट १५–११ ले जित्याे ।
उपविजेता बनेकाे पुलिसले पुरस्कार स्वरूप एक लाख रुपैयाँ प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो हुँदै ५० हजार रुपैयाँ पायाे ।
प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा (बेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।
पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले सोमवार महिलातर्फको उपाधि जितेको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १० औँ संस्करणको लामाचौर कपमा महिलातर्फ चार र पुरुषतर्फ पाँच वटा टिमले भाग लिएका थिए ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।